शिविरमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका पार्टी सदस्यको सदस्यतालाई नेकपा सदस्यका रूपमा अद्यावधिक गरिने र सदस्यता विवरणमा जन्म मितिलगायतमा रहेका त्रुटिसमेत सच्याइने उनले बताए ।
झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात सदस्यको अभिलेख व्यवस्थित गर्न सबै स्थानीय तहमा सदस्यता नवीकरण शिविर सञ्चालन गरेको छ ।
झापाका आठ नगरपालिका र सात गाउँपालिकामा स्थानीय कमिटीको आयोजनामा सदस्यता नवीकरण शिविर आगामी माघ १५ गतेसम्म सञ्चालन हुने नेकपाका कार्यालय सचिव शिव ढुङ्गेलले बताए । शिविरमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका पार्टी सदस्यको सदस्यतालाई नेकपा सदस्यका रूपमा अद्यावधिक गरिने र सदस्यता विवरणमा जन्म मितिलगायतमा रहेका त्रुटिसमेत सच्याइने उनले बताए ।
जिल्लामा नेकपाका ३२ हजार ८५५ पार्टी सदस्य रहेका कार्यालय सचिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार तत्कालीन नेकपा एमालेबाट २४ हजार १९८ र तत्कालीन नेकपा माओवादी केन्द्रबाट आठ हजार ६५७ सदस्य नेकपामा समाहित भएका छन् ।