अहिले सञ्चालनमा रहेका उपकरणको क्षमता कम हुँदा सेवाग्राहीले सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघे पनि अझै चालक अनुमतिपत्र पाइरहेका छैनन् । सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् ।
काठमाण्डौ । सरकारले ‘स्मार्ट चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । सेवाग्राहीलाई सहज र चाँडो सेवा दिनका लागि ‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढाएको हो । आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीलाई चालक अनुमतिपत्र उपलब्ध गराउनका लागि मास प्रिन्टर र कार्ड खरीद गर्नेसम्बन्धी ठेक्का सम्झौता भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।
गत महीना मात्रै विभागले ग्लोबल टेण्डरमार्फत १० लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको थियो । दश लाख कार्डमध्ये चार लाख पहिले र छ लाख कार्ड पछि आउने गरेर सम्झौता भएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए । अहिले तत्कालका लागि कार्डको अभाव हुन नदिन पहिले चार लाख कार्ड खरीद गर्न लागिएको हो । उनले भने,‘हामीले तत्काल ल्याउनका लागि भनिरहेका छौँ ।’
अहिले विभागसँग ७० हजार कार्ड मात्रै बाँकी रहेको प्रवक्ता खनालले बताए । अहिले कार्डको कमीले गर्दा पु¥याएर छपाइ गरिरहेको उनले बताए । १० लाख कार्ड छापिएर आएपछि झण्डै एक वर्षका लागि पुुग्ने अनुमान उनको छ । कार्ड र प्रिन्टर दुवैका लागि एकै दिनमा सम्झौता भएकाले दुवै चाँडो ल्याउन विभागले पहल गरिरहेको प्रवक्ता खनालको भनाइ छ ।
संविधानमा यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई तोकिएको छ । त्यसकै आधारमा गत मङ्सिर महीनामा नै यातायात कार्यालय प्रदेशमा हस्तान्तरण भएको उनले बताए । देशभरमा चालक अनुमतिपत्रमा एकरुपता ल्याउनका लागि संघीय सरकारले छपाइ गरिरहेको उनले जानकारी दिए । ‘कतै निलो, कतै कालो र कतै रातो हुँदा अन्तराष्ट्रियस्तरमा मानिँदैन, त्यसैले सरकारले समन्वय गरिरहेको हो’,उनले भने ।
अहिले सञ्चालनमा रहेका उपकरणको क्षमता कम हुँदा सेवाग्राहीले सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघे पनि अझै चालक अनुमतिपत्र पाइरहेका छैनन् । सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् ।
देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।
विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेको प्रवक्ता तीर्थराज खनालले बताए । उनका अनुसार एउटा उपकरणको क्षमता दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म छपाई गर्ने क्षमता रहेको छ । एक दिनमा बढीमा १८ हजारसम्म छपाइ गर्ने विभागले जनाएको छ । उपकरणमा समय समयमा समस्या आउने गरेको विभागले जनाएको छ । प्रवक्ता खनालका अनुसार उपकरणमा समस्या आउँदा मर्मतका लागि भारतबाट नै प्राविधिक आउनुपर्ने बाध्यता रहेको छ ।
आधुनिक प्रविधिको प्रयोग गर्दै सरकारले हस्तलिखित कार्डलाई ‘स्मार्ट’ चालक अनुमतिपत्रले विस्थापित गर्ने लक्ष्य राखे पनि आवश्यकताभन्दा कम छपाई हुँदा सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएका हुन् । विभागले चाँडो गर्ने भन्दै केही महीना निजी कम्पनीलाई छपाइको जिम्मेवारी दिएको थियो ।
गत फागुनसम्ममा विभागले देशभरका कार्यालयमार्फत पाँच लाख ५७ हजार २९८ स्मार्ट चालक अनुमतिपत्र वितरण गरेको थियो । आव २०७४/७५ मा दुई लाख ९८ हजार १७५ चालक अनुमतिपत्र वितरण भएको थियो ।