प्रतिनिधिसभाको सभामुख पदमा आज निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गरेका निष्ठावान् राजनीतिक योद्धा हुन् ।
झापा । प्रतिनिधिसभाको सभामुख पदमा आज निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गरेका निष्ठावान् राजनीतिक योद्धा हुन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी झापाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। प्रतिनिधिसभाको बिहिबारको बैठकले उनलाई सभामुख पदमा निर्वाचित गरेको हो । विसं २०७८ मा चितवनमा सम्पन्न नेकपा ९एमाले०को दशौँ राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज चयन भएका थिए ।
झापा, अर्जुनधारा–६ निवासी घिमिरे विसं २०१३ जेठ १३ गते ताप्लेजुङ जिल्लाको सिरिजङघा गाउँपालिका–३ मा पदमप्रसाद र भीमकुमारी घिमिरेको माइलो सन्तानका रूपमा जन्मिएका हुन। गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका उनले ताप्लेजुङकै भानु पब्लिक हाइस्कुलबाट एसएलसी र सुनसरीको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए ।
काठमाडौँको त्रिचन्द्र कलेजमा स्नातक तहको अध्ययन गरिरहेका बेला उनी तत्कालीन नेकपा क्रान्तिकारी कोअर्डिनेसन कमिटी (कोके) को आह्वानमा बुर्जुवा शिक्षा बहिष्कार गरी पूर्णकालीन राजनीतिमा होमिएका थिए । विसं २०३१ मा नेपाली कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेर उनी विसं २०३२ देखि झापा विद्रोहबाट जन्मिएको को–अर्डिनेसन कमिटीमा आबद्ध भई पार्टीको राजनीतिक काममा लाग्नुभएको थियो । उहाँले पञ्चायती शासन विरुद्धको सङ्घर्षका क्रममा पटकपटक जेल, हिरासत र निर्वासनको जीवन भोगेका थिए ।
विसं २०३३ मा बुर्जुवा शिक्षा बहिष्कार आन्दोलनलाई अघि बढाउँदै उनी भूमिगत राजनीतिकै क्रममा विसं २०३५ मा को–अर्डिनेसन कमिटी (कोके)को सदस्य बने । विसं २०३५ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता औपचारिक रूपमा प्राप्त गरेका हुन् ।उनी ४४ वर्ष लामो राजनीतिक यात्रामा सरल, सङ्घर्षशील, इमान्दार र बेदाग राजनीतिज्ञको पहिचान बनाउन सफल छन्। उनी शीर्ष तहकै राजनीतिज्ञ भएर पनि लामो समयसम्म लाभको पदको आशा नगरी पार्टीका लागि योगदान पु¥याएका त्यागी, अनुभवी र परिपक्व नेताको रूपमा परिचित छन्।
सभामुख घिमिरे विसं २०५६ मा राष्ट्रियसभा सदस्य चयन भएका थिए। विसं २०७९ को आमचुनावमा पहिलोपल्ट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन्। नेकपा एमालेका जननेता मदन भण्डारीका सहयात्री घिमिरे मदन भण्डारी फाउण्डेशनको संस्थापकमध्येका एक नेता र झापाको सुखानी सहिद स्मृति पार्कको संस्थापक अध्यक्षसमेत छन्।
उनी विसं २०३५ मा नेकपा मालेको तेह्रथुम र पाँचथर जिल्लाको सङ्गठन विभाग प्रमुख, विसं २०३९ मा इलाम जिल्लाको सेक्रेटरी, विसं २०४९ मा नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरण पश्चात गठन भएको नेकपा ९एमाले०को पाँचाँै राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका थिए ।
घिमिरे विसं २०५० मा नेकपा (एमाले) को मेची अञ्चल इन्चार्ज, विसं २०५८ मा केन्द्रीय स्वास्थ्य विभागको इन्चार्ज, विसं २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणपछि गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को अध्यक्ष भएका थिए ।