म्याग्दी । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बिरुद्ध आन्दोलन गर्ने बताएका छन । नेपाली काङ्ग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन ।
संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र सुशासन तथा सुरक्षा कायम गर्न सरकार असफल बन्दै गएको उनको आरोप थियो । दुई तिहाई बहुमत भए पनि सरकारले खासै काम गर्न नसकेको उनले बताए ।
कार्यक्रममा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको बताए । सम्झौतामा उल्लेखित जनमत भन्ने शब्दका कारण शङ्का पैदा गरेको नेता पौडेलले बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विकास र शासन गर्ने क्षमता नभएको आरोप लगाए ।सभापति देउवाप्रति लक्षित गर्दै पौडेलले कम्युनिष्टको असफलतामा काङ्ग्रेसको भविष्य नदेख्न अनुरोध समेत गरे । पार्टी भित्रको विवादलाई पारदर्शी ढङ्गले हल गरेर आन्तरिक एकतालाई बलियो बनाउन चाहेको उनको भनाइ थियो ।
काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक वर्षमै सरकारले जनविश्वास गुमाइसकेकाले काङ्ग्रेसले आन्तरिक एकतालाई बलियो बनाएर देशको राजनीतिको नेतृत्व गर्नुपर्ने बताए । बेनीको सङ्गमचोकमा निर्माण गरिएको दुईतले भवनको सभापति देउवा र वरिष्ठ नेता पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए । ५१ लाख ३७ हजारमा खरीद गरिएको जग्गामा २९ लाख ५९ हजारको लागतमा सो भवन निर्माण गरिएको काङ्ग्रेस म्याग्दीका कोषाध्यक्ष टङ्क हमालले जानकारी दिए ।