विसं २०७५ देखि केही बाख्रा पालेर व्यवसाय सुरु गरेका उनि त्यसपछि सायिकरुपमा जनसेवा बाख्रा तथा कृषि फार्म दर्ता गरेर खसी बोकाको मासु बिक्री र पाठापाठी पनि उत्पादन गर्दै आएका छन् ।
घोराही । जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक हुन् । जागिरे जीवनबाट अवकाश भएपछि उनले बसीबसी आनन्दको जीवन व्यतित गर्न सक्थे तर उनि केही नगरी बसेनन् । घोराही उपमहानगरपालिका– ७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
विसं २०७५ देखि केही बाख्रा पालेर व्यवसाय सुरु गरेका उनि त्यसपछि सायिकरुपमा जनसेवा बाख्रा तथा कृषि फार्म दर्ता गरेर खसी बोकाको मासु बिक्री र पाठापाठी पनि उत्पादन गर्दै आएका छन् ।
रोल्पा रुन्टीगढी गाउँपालिका–३ बाट बसाइँ सरी दाङ आएका हमाल लामो समय शिक्षण पेशामा आबद्ध थिए । बीस वर्षपछि अवकाशप्राप्तपश्चात् खाली समयलाई सदुपयोग गर्दै बाख्रापालन व्यवसाय गर्न थालेको उनको भनाइ छ । हमालको परिवार विसं २०५२ सालमा दाङको देउखुरीमा र त्यहाँ करिब २० वर्षको बसाइपछि फेरि घोराही–७ जवरपुरमा बसाइँ सर्दै आएको हो । जगिरको समय सकिएपछि केही काम गर्नुपर्छ भन्ने सोचका साथ कृषि व्यवसायमा आबद्ध भएको उनले बताएका छन् ।
“मैले खसी, बोकासँगै बीउका लागि बोयर जातको पाठापाठी बिक्री पनि गर्दै आएको छु”, हमालले भने , आफूसँग नभएका मात्र अन्यत्रबाट पाठापाठी खरिद गरेर ल्याउने गरेको छु । हाल मेरो फार्ममा १३÷१४ वटा पाठापाठीसहित ८० बढी बाख्रा छन् । यसबाट वार्षिकरुपमा रु १०÷१२ लाख जति आम्दानी गर्दै आएको छु ।” यहाँ उत्पादन भएको शुद्ध बोयर जातको बोका तथा पाठीको माग विभिन्न जिल्लाबाट आउने गरेको छ । “यहाँ उत्पादन भएका बोयर जातको बोका तथा पाठीलाई बीउका रुपमा जिल्लाको विभिन्न ठाउँबाट माग हुने गरेको छ”, उनले बताए , “उत्पादन गर्नसके बजारको कुनै समस्या छैन तर मागअनुसार उत्पादन गर्न सकिएको छैन ।”
बाख्रापालनका लागि आवश्यक घाँस हमाल आफैँले उत्पादन गर्दै आएका छन् । उन्नत र आधुनिक जातको घाँस बर्सिम, जै लगाउनाका साथै घाँसको पनि खेती गर्छन । योसँगै मसुरो, गहुँको भुस पनि उनले खुवाउने गरेका छन् । डाले घाँसको भने हमाललाई समस्या छैन । बाख्रापालन नै परिवारको मुख्य आम्दानीको स्रोत भएको र यसबाट प्राप्त भएको आम्दानीले छोरा छोरीका लागि शिक्षा तथा घर खर्च मनग्य छ । बाख्रापालनमा उनको श्रीमती र छोराले पनि सहयोग गर्दै आएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१६ फचकुलुवाका किसान दिपेन्द्र वलीले पनि २०७५ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन व्यावसाय गर्दै आएका छन् । उनिसहित अन्य तीन साथी पनि मिलेर उक्त व्यावसाय गर्दै आएका छन् । उनीहरुको फार्ममा हाल पाठापाठी र अन्य गरेर एक सय ५० बढी बाख्रा छन् । सुरुआती चरणमा रु एक करोड २५ लाखबाट व्यवसाय गरेको उक्त समूहले अहिले रु तीन करोड बराबरको कारोबार गर्न सफल भएको छ ।
केही रकम बैंकमा ऋण तिर्न बाँकी रहेको वलीले बताए । एकीकृत कृषि तथा पशुपक्षी सहकारी संस्थामार्फत उक्त टोलीले व्यवसाय गर्दै आएको हो । पैसा कमाउनकै लागि विदेशिनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि व्यवसायअन्तर्गत बाख्रापालन गर्दै आएको वलीको भनाइ छ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घ दाङ जिल्ला अध्यक्षका अध्यक्षसमेत रहनुभएका वलीले खसीबोका बिक्रीका लागि महासङ्घमार्फत समन्वय गरेर बिक्री गर्दै आएको बताएका छन् । उक्त फार्ममा बोयर जातका खसीबोका पालिएका छन् ।
बाख्रालाई घाँसका लागि उक्त समूहले सात कट्ठा जग्गामा घाँस लगाएको छ । पछिल्लो समय भने व्यावसायिकरुपमा कृषि व्यवसाय गर्दै आएका किसानले अनुदान नपाउने र विचौलियाको हातमा पर्ने हुँदा धेरै व्यवसायी बाख्रापालन व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको वलीले बताए । साथै नेपाल व्यावसायिक बाख्रापालक महासङ्घ दाङ जिल्ला अध्यक्ष भएको हुँदा किसानलाई कसरी व्यावसायिक र स्वरोजगारमुखी बनाउन सकिन्छ भन्नेतर्फ लागेको उनको भनाइ छ ।
“सरकारले पनि किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्नुपर्छ”, वली भन्छन, “बजारीकरणको समस्या हुँदा किसानले उत्पादन गरेका वस्तुले उचित मूल्यसमेत पाउन सकेका छैनन् ।”