गठबन्धनको बलमा आफूले चुनाव जित्ने शाक्यको दाबी छ । उम्मेदवार शाक्यले भने, “मेरो उम्मेदवारीबाट सिङ्गो पार्टी र गठबन्धन उत्साही बनेको छ । मजबुत सङ्गठन र गठबन्धन दलको सहयोग मेरो जित्ने आधार हो ।” कांग्रेस महासमिति सदस्य शाक्य आफू जित्ने र तीन दशकअघिको पराजयको बदला लिने दाउमा छन् ।
सुर्खेत । प्रजातन्त्रको पुनःस्थापनापछि विभिन्न समयमा निर्वाचनहरु भए र ती निर्वाचनहरुमा राजनीतिक दलका उम्मेदवारबीचको प्रतिस्पर्धामा जनताको अभिमतका आधारमा कोही विजयी र कसैले पराजय भोग्नु पर्दछ । एकै निर्वाचन क्षेत्रमा ३० वर्षअघि प्रतिस्पर्धामा रहेका दुई नेताबीच यसपटकको प्रदेशसभा निर्वाचनमा पुनःआमनेसामने हुँदै छन् । विसं २०४९ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले)का यमलाल कँडेलबीच मङ्सिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदैछ । त्यतिबेला काँग्रेसका शाक्यलाई पराजित गरेर एमालेका कँडेल वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
सत्ता–गठबन्धनका तर्फबाट सुर्खेत क्षेत्र नं २ प्रदेशसभा (१) बाट उम्मेदवार बन्नुभएका कांग्रेसका शाक्यलाई एकीकृत समाजवादीबाहेकका दलको समर्थन छ भने एमालेले कँडेललाई उम्मेदवार बनाएर एक्लै चुनावी मैदानमा उतारेको छ । यस क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का शिवप्रसाद उपाध्याय, राप्रपाका सूर्यबहादुर खत्रीसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मुख्यमन्त्री बन्ने योजनासहित २०७४ को निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बनेका कँडेलले तत्कालीन वाम–गठबन्धनको सहयोगमा पाँच हजारभन्दा बढी मतान्तरले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गरेका थिए । यसपटक पनि मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा दोहोरिन खोजेका कँडेललाई गठबन्धनका शाक्य चुनौती बनेका छन् ।
गठबन्धनको बलमा आफूले चुनाव जित्ने शाक्यको दाबी छ । उम्मेदवार शाक्यले भने, “मेरो उम्मेदवारीबाट सिङ्गो पार्टी र गठबन्धन उत्साही बनेको छ । मजबुत सङ्गठन र गठबन्धन दलको सहयोग मेरो जित्ने आधार हो ।” कांग्रेस महासमिति सदस्य शाक्य आफू जित्ने र तीन दशकअघिको पराजयको बदला लिने दाउमा छन् ।
कांग्रेसका पूर्वजिल्ला उपसभापति, पटकपटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएका शाक्यले जिल्ला समन्वय समिति संयोजक बन्ने योजनासहित २०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर–९ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए । तर, उनि झिनो मतान्तरले पराजित हुनुपरेको थियो ।
शाक्यले कँडेल र उपाध्यायभन्दा आफू बलियो उम्मेदवार भएको दाबी गरेका छन् । “पार्टीमा एकता र वाम गठबन्धनको सहयोगले मैले चुनाव जित्ने पक्का छ, विसं २०४९ यता कँडेलले सुर्खेतका लागि गरेको विकास जनताले हेरिसकेको छ”, उनले भने , “उनले ३० वर्षसम्म जनतालाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरे , हरेक पटक उनको झुटो आश्वासनबाट हैरान भएका छन्, अब उनीहरूले नयाँ अनुहारलाई जिताउनेछन् ।”
यता एमाले एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कँडेल पनि आफ्नो विजयी यात्रा जारी राख्ने लक्ष्यमा छन् । एमालेका कँडेल हाल पार्टीको कर्णाली प्रदेश इञ्चार्ज र स्थायी कमिटी सदस्य छन् । विसं २०५१ मध्यावधि र २०७४ को संविधानसभा निर्वाचनमा विजयी बने भने विसं २०५६ को संसदीय र २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका हृदयराम थानीसँग पराजित भएका थिए । विद्यार्थी राजनीतिदेखि नै थानी–कँडेल निरन्तर प्रतिस्पर्धामा थिए ।
यसअघि मुख्यमन्त्री हुने योजनासहित प्रदेशसभामा निर्वाचित कँडेल मुख्यमन्त्री बन्न भने सकेनन् । त्यतिबेला साविक पूर्वमाओवादीको भागमा कर्णालीको मुख्यमन्त्री परेपछि कँडेलको योजना असफल भएको थियो । यसपालि फेरि मुख्यमन्त्री हुने योजनासहित कँडेल आफूभन्दा कनिष्ट एमाले नेताहरूलाई प्रतिनिधिसभामा पठाएर प्रदेशमै लडेका छन् । “केन्द्र, प्रदेश जहाँ भए पनि सङ्घीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्ने हो”, एमाले उम्मेदवार कँडेलले भने । प्रदेशसभाको पहिलो कार्यकालले उल्लेख्य काम गर्न नसकेकाले पुनःप्रदेशसभाकै उम्मेदवार बनेको एमाले उम्मेदवार कँडेलले बताएका छन् ।
विसं २०४९ मै वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख जितेका एकीकृत समाजवादीका नेता शिवप्रसाद उपाध्याय पनि शाक्य र कँडेलसँग प्रतिस्पर्धामा उभिएका छन् । उनिहरू तीनै जनाबीच प्रदेशसभा २ (क) बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा हुनेछ । तीनै जना उम्मेदवारले निर्वाचन आफूले जित्ने दाबी गरिरहेका छन् ।
एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य लडेका उपाध्यायले भने लामो समयसम्म सङ्घर्ष गरेकाले आफूले जित्नेमा दुईमत नभएको तर्क गरेका छन् । उनले दुई पटक वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख भएर काम गरेकाले पनि आफूले चुनाव जित्ने बताएका छन् । “नगरवासी र मतदाताले मलाई नजिकबाट चिन्नुभएको छ, म जित्नेमा विश्वस्त छु”, उनले भने ।
गठबन्धनभित्रै चुनावी प्रतिस्पर्धा
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुर्खेतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन भए पनि भाग नपाएपछि एकीकृत समाजवादीले प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रमा आफ्ना आधिकारिक उम्मेदवार उठाएको छ ।
एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ (क) र (ख) मा उम्मेदवार उठाएको छ । भाग नपाएपछि प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवार अगाडि सारेको एकीकृत समाजवादीले ती दुई क्षेत्रमा समाजवादीका नेताहरुले दलबाट आधिकारिक टिकट लिएर चुनावी प्रचारमा लागेका छन् ।
भागबण्डामा नपरेपछि असन्तुष्टि जनाउँदै पार्टीको जनमतका आधारमा उम्मेदवारी दिएको एकीकृत समाजवादीका जिल्ला तहका नेताहरुको दाबी रहेको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ (क) मा शिवप्रसाद उपाध्याय र (ख)मा मोहनसिंह बडुवाललाई गठबन्धनविरुद्ध उम्मेदवार बनाएको छ । यसरी सुर्खेतका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुभित्रै चुनावी प्रतिस्पर्धा हुने भएको छ । भागबण्डामा यो निर्वाचन क्षेत्रमा प्रदेशसभा २ (क) नेपाली कांग्रेस र (ख) नेकपा माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनका तर्फबाट (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् ।
सुर्खेतमा जनमतको कदर गर्दै दलबाट छुट्टै उम्मेदवारी परेको एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष प्रदेशसभा सदस्यका उम्मेदवार मोहनसिंह बडुवालले बताए । “गठबन्धनको निर्णय जेसुकै भए पनि जनताको साथ हामीसँग छ”, उनले भने, “पार्टीको केन्द्रीय निर्णयअनुसार नै आधिकारिक टिकट आएपछि उम्मेदवारी दिएका हौँ”, उनले भने , “जनमत हाम्रो पक्षमा भएकाले हामी चुनावमा होमिएका हौँ ।”
२० वटा मतदान केन्द्र अतिसंवेदनशील
सुर्खेतमा २० वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ भने ८६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्लाका एक सय ३९ मतदान स्थलका दुई सय ९३ वटा मतदान केन्द्रमध्ये २० वटालाई अतिसंवेदनशील केन्द्रका रुपमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निर्वाचनमा सुरक्षाका हिसाबले सुर्खेतमा एक सय ३९ मतदानस्थलमध्ये ३३ वटा कम संवेदनशीलका रुपमा राखिएको छ । प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सुरक्षा चुनौती न्यूनीकरणका लागि जिल्ला सुरक्षा समितिमार्फत मतदानस्थलको सुरक्षाका लागि आवश्यक कामहरु भइसकेको जनाइएको छ ।
सुर्खेतको पूर्वसिम्ता गाउँपालिकादेखि पश्चिम चौकुने गाउँपालिकासम्मका सुरक्षा संवेदनशीलता मानिएका मतदान स्थलहरुको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली तयारी अवस्थामा राखिने जनाइएको छ । संवेदनशील मतदानस्थलमा तत्काल थप सुरक्षाकर्मी पुग्नेगरी रणनीति बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् । उनको अनुसार संवेदनशीलरुपमा लिइएका मतदानस्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको छ ।
निर्वाचनका लागि दुई हजार ३४४ कर्मचारी खटिँदै
आसन्न निर्वाचन गराउने प्रयोजनका लागि सुर्खेतमा दुई हजार तीन सय ४४ कर्मचारी खटाउन लागिएको छ । आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै एक सय ३९ मतदानस्थलका दुई सय ९३ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत गायतका कर्मचारी खटाउन लागिएको छ ।
कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी कुमार ज्ञवालीका अनुसार आवश्यकताअनुसार थप कर्मचारी र स्वयम्सेवक खटाउन सकिनेछ । उनका अनुसार ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दाबढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी खटाउन लागिएको छ । प्रतिनिधिसभाका दुई र प्रदेश्सभाका चार निर्वाचन क्षेत्रका मतदानस्थल र मतदान केन्द्रमा खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको पनि प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिएका छन् ।