मन्त्री वलीले गेटैबाट मेरो एकराज खै भन्दै होहल्ला गर्दै भित्र छिरेर एकराजकी वास्तविक श्रीमती मिना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि उनलाई स्थानीयले घेरा हालेका थिए। उनले मिनालाई कुटपिट गरी लुगासमेत च्यातिदिएकी छिन् । भने घरको पर्दा दराजसमेत तोडफोड गरेकि छिन् । पछि प्रहरी पुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।
काठमाडौं । अहिले चर्चामा लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री बिमला वली छिन् । मंगलबार बिहानदेखि मिडियादेखि सामाजिक संजालमा समेत छाइरहेकि तिनै विमला वली यतिबेला प्रहरी नियन्त्रणमा छिन् । कारणः उनले एक महिला र उनकी बालिका छोरी कुटिन् ।
मंगलबार बिहानै सरकारी गाडीमा झन्डा हल्लाउँदै निजी सुरक्षागार्डसमेत लिएर राज्यमन्त्री वली तुलसीपुर ५ आलुमण्डीस्थित एक घरमा पुगिन् । त्यो घर थियो, वलीकै दाबी अनुसार उनका श्रीमान् एकराज बस्नेतको । बस्नेत पहिल्यै विवाहित थिए । उनकी श्रीमति र एक छोरी छिन् । मन्त्री वलीले गेटैबाट मेरो एकराज खै भन्दै होहल्ला गर्दै भित्र छिरेर एकराजकी वास्तविक श्रीमती मिना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि उनलाई स्थानीयले घेरा हालेका थिए। उनले मिनालाई कुटपिट गरी लुगासमेत च्यातिदिएकी छिन् । भने घरको पर्दा दराजसमेत तोडफोड गरेकि छिन् । पछि प्रहरी पुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।
दैवले श्रीमान् खोसेपछि राजनितिमा आइन्
लुम्बिनी प्रदेशसभा सदस्य श्रीमान उत्तरकुमार वलीको जीप दुर्घटनामा परि निधन भएपछि तत्कालीन नेकपाले उत्तरकी पत्नी बिमलालाई प्रदेशसभा उम्मेदवार बनाएको थियो । उपनिर्वाचनमा मतदाताको सहानुभूती बटुल्न सजिलो हुने भएर प्राय यस्ता घटना भए निजकै श्रीमतिलाई उम्मेदवार बनाइन्छ । वलीले पनि तत्कालीन नेकपाबाट उम्मेदवार भएर प्रदेशसभाको उपनिर्वाचनमा कांग्रेसलाई पराजित गरी प्रदेशसभा भित्रिएकी थिइन् । यसअघि राजनितिमा संलग्न नभएकि उनी चुनाव ताका नेता तथा कार्यकर्तासँग नजिक भएपकि थिइन् । यसैक्रममा एकराज बस्नेतसँग पनि नजिक हुन पुगेकि हुन् ।
सर्वोच्चले तत्कालीन नेकपा खारेज गरेपछि लुम्बिनी प्रदेशमा सरकार टिकाउन र संसद्मा अंकगणितको हिसाब मिलाउन वली निर्णायक बनिन् । र मन्त्री पद उपहार पाइन् ।
बेला बेलामा बेपत्ता
जब नेकपा खारेज भयो सांसद् वलीको हैसियत झन् धेरै बढ्यो ।नेकपा खारेजीपछि दल रोज्ने अधिकार सांसद्लाई दिइएको थियो । सरकार टिकाउनेदेखि गिराउनेसम्म उनको मत अमुल्य बनेपछि उनी बेला बेला बेपत्ता भइन् वा पारिइन् । पहिलो पटक दाङ क्षेत्र नम्बर ३ (ख) को उपनिर्वाचनबाट निर्वाचित बिमला २०७८ वैशाख १९ मा पहिलो पटक बेपत्ता भएको खबर बाहिरियो। बिमला माओवादी रोज्ने तयारीमा रहेको बेला बेपत्ता भइन् तर तत्कालीन सत्तारुढ एमालेले उनलाई बिपक्षी गठबन्धनले बेपत्ता पारेको आरोप लगायो। त्यसपछि पत्रकार सम्मेलनै गरेर भनिन् ‘म बेपत्ता भएको छैन, म यहीँ छु भन्दै आफूले नेकपा माओवादी केन्द्र रोजेको स्पष्ट समेत पारिन्।
तर एमालेले भने त्यो बेला माओवादीले नै बिमलालाई कब्जामा लिएर बलजफ्ती पार्टी प्रवेश गराएको भनेर आरोप लगाइराख्यो । उनै सांसद बिमला तीन महिना पश्चात २०७८ साउनमा फेरी बेपत्ता बन्न पुगिन्। उनकै दल नेकपा माओवादी केन्द्रले वली बेपत्ता भएको दाबी गरेपछि पुनः सम्पर्कमा आएकी उनले त्यो बेला आफू बिरामी भएर उपचारका लागि नेपालगन्जमा रहेको र बेपत्ता नभएको बताएकी थिईन्। त्यतिबेला लुम्बिनी प्रदेशमा सरकार बदल्ने कसरत भइरहेको थियो जसमा वलीको मत निर्णायक हुने पक्का थियो । माओवदी केन्द्रले आरोप लगाइरहेको बेला एक्कासी वली एमालेमा प्रवेश गरेको प्रेस विज्ञप्ति आयो । तर एमाले प्रवेश गरेको भनिएको हप्ता दिन पछि नयाँ यो प्रकरणको फेरि ‘ट्विस्ट’ बाहिर आयो। बिमलाले आफू तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल र एमालेका अन्य नेताहरुको अपहरणमा परेको र ७ दिनसम्म मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएर राखेको स्पष्टिकरण दिन सार्वजनिक भईन्। बाथरुमकै चप्पल लगाएर भागेर आएको बयान दिएकि उनले ‘म माओवादी मै छु।’ भन्दै धारणा सार्वजानिक गरिन् । आफू माओवादी मै रहेको भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएकी बिमलाले एमालेका नेताहरुले आफूलाई त्यो बेला ‘जवरजस्ती’ विज्ञप्तीमा हस्ताक्षर गर्न लगाईएको दाबी समेत गरेकी थिईन्।
उनै बिमलाको मतले तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकार परिवर्तन भयो। माओवादी नेतृत्वको वर्तमान प्रदेश सरकारले उपहारमा बिमलालाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको थियो। राजनितिक जीवन सुरु गर्दा नै विवाद र चर्चा कमाएकि वलीले यसपटक भने बदनामी कमाएकि छिन् ।
कहिले दिदिभाई कहिले श्रीमान् श्रीमती
केही समय अघि पनि सामाजिक सञ्जालमा उक्त पुरुषसंगको सिन्दुर हालेर चुम्बन गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि आलोचित बनेकि थिइन् । पछि उनले फोटोसप गरेको तस्बिर भन्दै ढाँकछोप गरिन् भने बस्नेत र आफूबीच दिदिभाईको सम्बन्ध रहेको दाबी गरिन् । पार्टीले समेत चुनावी प्रोपोगान्डा गर्न खोजेको भन्दै बचाउ गरेको थियो । तर अहिले भने उनीहरुबीच विवाहत्तर सम्बन्ध रहेको प्रमाणित भइसकेको छ । वलीले एकराजलाई श्रीमान् नै दाबी गरेकोले बहुविवाहको सवाल पनि जोडिएको छ । उनीविरुद्ध बस्नेतकि श्रीमति उजुरी गर्ने तयारीमा रहेकि छ्नि। यी सबै घटना भइराख्दा एकराज बस्नेत भने सार्वजानिक भएका छैनन् ।