भारत । उत्तरी भारतमा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ । हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा बिहीबार बस खोँचमा खस्दा अन्य कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।
भारत । उत्तरी भारतमा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ ।
हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा बिहीबार बस खोँचमा खस्दा अन्य कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।
बसमा कम्तीमा ६० जना सवार थिए त्यसमध्ये कतिपय बसको छतमा रहेको बताइएको छ । दुर्घटनाको खबरबाट आफू निकै दुःखी भएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेका छन् ।
विवरणहरूमा जनाइए अनुसार साँघुरो र घुमाउरो मोडमा बस पल्टिएर गहिरो खोँचमा खसेको थियो । यसअघि अधिकारीहरूले दुर्घटनामा कम्तीमा २५ जनाको ज्यान गएको बताए पनि घाइतेमध्ये थप १९ जनाको मृत्यु भएको बताए ।
घटनास्थलबाट प्राप्त तस्वीरहरूमा एउटा झरनाको छेउमा बस पल्टेको र स्वयम्सेवकहरूले घाइतेहरूको उद्धार गरिरहेको देखिएको छ ।
कुल्लु जिल्लाका प्रहरी प्रमुख शालिनी अग्निहोत्रीले समाचार संस्था एएफपीलाई बताए अनुसार पीडितमध्ये धेरै महिला तथा बालबालिका छन् जो विद्यालय र कामबाट फर्किरहेका थिए।
हिमाञ्चल प्रदेशमा मात्रै सन् २००९ देखि २०१८ सम्ममा ३० हजारभन्दा बढी सडक दुर्घटना भएको तथ्याङ्क छ ।
भारतीय पत्रिका टाइम्स अफ इण्डियाका अनुसार सो समयावधिभित्र सडक दुर्घटनामा परी ११ हजारभन्दा बढीको ज्यान गएको छ भने करिब ५४ हजार घाइते भएका छन्।