काठमाण्डौँ । प्रहरीले ६ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौँ । प्रहरीले ६ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट गणेशस्थान गाविस–९ घर भई हाल काठमाण्डौँको तारकेश्वर नगरपालिका मनमैजु बस्ने प्रविन पौडेल रहेको छ । उनलाई मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ पारिजातपथ क्षेत्रमा लुकेर बसेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पौडेलले काठमाण्डौ महानगरपालिका–४ विशालनगरमा ‘द एप्रिन्टाइस फिर्म प्राइभेट लिमिटेड’ नामको ट्रेनिङ सेन्टर खोली सिंगापुर पठाइदिने र मासिक ५३ हजारभन्दा बढी कमाइ हुने भन्दै ठगी गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा प्रविन पौडेलले तीन सय जनाभन्दा बढी मानिसहरुबाट करिब ६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुल्न आएको छ ।
भारतको दिल्ली र लखनउमा पठाइ तालिम दिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरुसँग पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि काठमाण्डौ महानगरपालिका–३२ कोटेश्वर बस्ने तिर्थ हमालले दिएको जाहेरीको आधारमा पौडेललाई पक्राउ गरिएको हो ।
ठगी कार्यमा अन्य मानिसहरुको पनि संलग्नता रहेको हुनाले खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।