जारी शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसले ब्रिगेड ब्वाइज क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको दोस्रो मिनेटमै ब्रिगेडका रोशन रानामगरले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । ब्रिगेडका शिशिर लेखीको प्रहार पुलिसका गोलकिपरले रोकेपछि आएको रिबाउन्ड बल डिफेन्डरले क्लियर गर्न नसकेपछि रोशनले गोलमा परिणत गरेका थिए । लगत्तै खेलको चौंथो मिनेटमा बुद्ध तामाङले फ्रि–किकमार्फत गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
बराबरीसंगै एक एक अंक बाँडेका पुलिस र ब्रिगेड ब्वाइज क्रमशः एघारौं र बाह्रौं स्थानमा यथावत छन् । पुलिसले अहिलेसम्म ६ अंक जोड्दा ब्रिगेडको जम्मा ५ अंक मात्रै छ । आजको खेलसंगै आठौंचरणका खेलहरु सकिएका छन् ।