‘मैले आफ्नो जीवन बिताइसके । अब बाँकीका दिन जति बिताउँछु,ती सबै भगवानका नाममा ।’ लामो सुस्केरासँगै सुनाउँछन पशुपतिनाथस्थित सिद्धि शालिग्राम वृद्धआश्रममा आश्रित १०४ वर्षका अमृतानन्द स्वामी । विहान उठेर जप गरेपछि उनको दैनिकी शुरु हुन्छ । एक सय चार वसन्त पार गरिसके पनि उनी राम्रो संग हिँडडुल गर्न र अक्षर ठम्याउन सक्छन् । भागवत् गीता र अन्य धार्मिक पुस्तक अझै पनि राम्रोसंग पढ्न सक्ने उनले बताए । उनलाई यहाँ बस्न सहजै लाग्छ तर बेलाबेलामा आश्रमका कर्मचारीले कराउँदा भने आफ्नी श्रीमती र छोराहरु सम्झेर मन रुने बताउँछन ।
‘मैले आफ्नो जीवन बिताइसके । अब बाँकीका दिन जति बिताउँछु,ती सबै भगवानका नाममा ।’ लामो सुस्केरासँगै सुनाउँछन पशुपतिनाथस्थित सिद्धि शालिग्राम वृद्धआश्रममा आश्रित १०४ वर्षका अमृतानन्द स्वामी ।
विहान उठेर जप गरेपछि उनको दैनिकी शुरु हुन्छ । एक सय चार वसन्त पार गरिसके पनि उनी राम्रो संग हिँडडुल गर्न र अक्षर ठम्याउन सक्छन् । भागवत् गीता र अन्य धार्मिक पुस्तक अझै पनि राम्रोसंग पढ्न सक्ने उनले बताए । उनलाई यहाँ बस्न सहजै लाग्छ तर बेलाबेलामा आश्रमका कर्मचारीले कराउँदा भने आफ्नी श्रीमती र छोराहरु सम्झेर मन रुने बताउँछन ।
श्रीमतीको २० वर्ष अघि मृत्यु भइसकेको र भएका २ छोरा पनि कामका शिलशिलामा विदेशमा छन । घर काठमाडौंको बाँसबारीमा छ । तर बुढो शरीरले एक्लै घर र आफूलाई स्याहार्न गाह्रो भएपछि उनि चार वर्ष अघि आश्रमको शरणमा पुगेका हुन । स्वामी भन्छन, ‘छोराहरु बोलाउँछन् तर अर्काको भूमिमा गएर मर्यो भने सबै आफ्ना एकातिर हुन्छन, म मात्रै छुट्टिन्छु त्यसैले जान मन लाग्दैन ।’
सोही आश्रममा भेटीएकी अर्की वृद्धा हुन, नुवाकोट त्रिसुलीकी जानुका अगस्ते । उनी अहिले ७६ वर्षकी भइन् । करिब ९ वर्ष अघि गाउँलेको सहयोगबाट उनी आश्रममा आएकी हुन । २ भाइ छोरा र लोग्नेको मृत्यु पश्चात सौता ज्वाँइले सम्पती खाइदिएपछि उनी आश्रममा आइपुगेको बताउँछिन । उनकी एउटी छोरी छन । उनको विवाह गोर्खामा भएको छ । छोरीले गोर्खामा बस्न बोलाए पनि छोरीज्वाईसंगै बस्न आफ्नो धर्मले नदिने बताउँछिन उनी । दुःख र आँशुमा बितेको आफ्नो जीवन उनलाई औचित्यहीन लाग्छ । उनी दम र ग्याष्ट्रिक रोगबाट ग्रसित छिन् । भन्छिन, ‘तन र मनको पीडाले गर्दा जीन्दगी बिताउनसाह्रै गाह्रो भइरहेको छ ।’ तर पनि उनी पुराना दिन सम्झेर केहीबेर भएपनि कल्पनामा हराउने गरेको सुनाउँछिन ।
अर्की बृद्ध भोदिमाया तामाङलाई भने प्यारालाइसिसले सताएको छ । श्रीमान र छोरीको मृत्युपश्चात बौद्धस्थित बहिनीको घरमा बस्दै आएकी तामाङ प्यारालाइसिस भएपछि आश्रममा आइपुगेकी हुन । शरीरको देब्रे भागले काम गर्न छाडेपछि १० वर्ष अघिदेखि आश्रममा बस्न थालेकी हुन् । दिनभरी बसिरहदाँ दिक्क लाग्ने गरेको सुनाउँदै उनी कहिलेकाहीँ लठ्ठी टेक्दै चर्चमा प्राथनाको लागी जाने गरेको बताउँछिन । त्यही चर्चमा कहिलेकाहीँ बहिनी भेट्न आउँछिन । तामाङ भन्छिन,“शरीरले काम गर्न छाडेपछि आफ्नाले नी हेला गर्दा रैछन् ।”
स्वामी, अगस्ती र तामाङसँगै १ सय ५५ जना वृद्धवृद्धा अहिले यो आश्रममा रहेका छन । सबैको दिनचर्या फरक फरक रहेको छ । उनीहरुले विहान ७ बजे चियाखाजा, १० बजे खाना, दिउसो २ खाजा र अपरान्ह ४ बजेपछि साँझको खाना पाउँछन ।
आफ्नै उमेर समूहका साथीभाईसँग गफिनु उनिहरुको दैनिकी हो । उनीहरु बीच आफ्रनो ठाउँ, परिवार, आफन्तकाबारेमा कुराकानी हुनेगर्छ । उनिहरु पुराना दिन सम्झन्छन र सुखदुःख साट्ने गर्छन । कतिपय त पुराना दिन सम्झेर भक्कानिने गरेका छन ।