काठमाडौं । स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको पहिलो सेमेष्टरको विवादित प्रश्नपत्रको विषयमा त्रिभुवन विश्वविद्यालयको डिनको कार्यालयले झूठो विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाएको पाइएको छ ।
काठमाडौं । स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको पहिलो सेमेष्टरको विवादित प्रश्नपत्रको विषयमा त्रिभुवन विश्वविद्यालयको डिनको कार्यालयले झूठो विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाएको पाइएको छ ।
डिनको कार्यालयले सतर्कता केन्द्रलाई दिएको जवाफलाई त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयद्वारा गठित छानविन समितिले झूठो सावित गरिदिएको हो । क्वान्टम मेकानिक्स (आई फिजिक्स– ५०३) विषयको परीक्षामा ३० भन्दा बढी नम्बरको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट सोधिएको भन्दै गत पुस २९ गते ताहचल केन्द्रका विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए । साथै उनीहरुले अख्तियार र सतर्कता केन्द्रलाई गुहारेका थिए ।
सतर्कता केन्द्रले त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयलाई यसबारे प्रश्न सोधेको थियो । डिनको कार्यालयले गत वैशाख १५ गते सतर्कता केन्द्रलाई पठाएको जवाफमा विषय समितिको बैठकले समेत पाठ्यक्रम भित्रैबाट प्रश्न सोधिएको ठहर गरेको व्यहोरा उल्लेख छ । सो पत्रमा सहायक डिन तेजबहादुर बीसीको हस्ताक्षर छ ।
तर, डिनको कार्यालयले दाबी गरेजस्तो विषय समितिको बैठक नै नबोलाइएको समिति सदस्यहरु बताउँछन् । प्रश्नपत्र पाठ्यक्रम बाहिरबाटै सोधिएको दाबी गर्ने विद्यार्थीहरुले केन्द्रीय भौतिकशास्त्र विभागमा तालाबन्दी लगायतका आन्दोलन जारी राखेका थिए । विद्यार्थीको दबाव बढ्दै गएपछि शिक्षाध्यक्षको कार्यालयले वैशाख १७ गते सेवा निवृत्त प्राध्यापक सीताराम प्रसाद व्याहुतको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।