पोखरा । गण्डकीका पूर्व प्रदेशप्रमुख अमिक शेरचनले नेपालको राजनीति निरंकुशतातिर धकेलिएको बताएका छन् । सोमबार मात्र पदमुक्त भएका शेरचनले आफूलाई जानकारीबिनै हटाइएको र यसबाट मिडियामार्फत थाहा पाएको जनाए ।
पोखरा । गण्डकीका पूर्व प्रदेशप्रमुख अमिक शेरचनले नेपालको राजनीति निरंकुशतातिर धकेलिएको बताएका छन् । सोमबार मात्र पदमुक्त भएका शेरचनले आफूलाई जानकारीबिनै हटाइएको र यसबाट मिडियामार्फत थाहा पाएको जनाए ।
‘पहिल्यै भनेको भए मैले राजीनामा दिन्थेँ,’ पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म नमान्दा–नमान्दै थामिएको पद थियो । रहरले भन्दा पनि बाध्यताले आएको थिएँ । संसद् विघटन हुने बेला नै राजीनामा दिने तयारी गरेँ । प्रचण्डले रोकेका कारण दिएको थिइनँ । अहिले आफैं हटाइयो ।’
उनले राजनीतिमा ६२ वर्ष बिताएको जनाउँदै आफूलाई कुनै पनि पदको लोभ नभएको बताए । अबका दिनमा खुला राजनीतिमा सक्रिय रहने भन्दै उनले आफूले पदीय मान्यता विपरीत कार्य नगरेको दाबी गरे । ‘पहिला ओलीजीले प्रस्ताव गर्दा अस्वीकार गरेँ,’ उनले भने, ‘प्रचण्डजीले पनि भन्नुभयो । तर पछि पार्टीले निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताका रूपमा पद स्वीकार गरेको हुँ ।’
पदबाट हटाइएकोमा उनले ‘अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउँदा खुसी रहेको’ भनी प्रतिक्रिया दिए । विशेष अधिवेशन आह्वान गरेपछि प्रदेशसभा स्थगित भएको भन्दै उनले सर्वदलीय बैठक बोलाएर छलफल चलाउने तयारी गर्दैगर्दा आफू छाडेर जानुपरेको बताए ।
शेरचनलाई राष्ट्रपति भण्डारीले सोमबार साँझ पदमुक्त गरेकी थिइन् । उनको ठाउँमा एमाले नेत्री सीता पौडेल आएकी छन् ।