काठमाडौं । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण शुरु भएको लामो समयसम्म पनि निर्माण कम्पनी पप्पु कन्सट्रक्सन प्रालीले काम अघि नबढाएपछि गत वर्ष सडक विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो ।
काठमाडौं । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण शुरु भएको लामो समयसम्म पनि निर्माण कम्पनी पप्पु कन्सट्रक्सन प्रालीले काम अघि नबढाएपछि गत वर्ष सडक विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो । पुरानो ठेक्का तोडिए पनि नयाँ ठेक्कामा जान बाँकी रहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ ।
सो पुल निर्माणका लागि लाग्ने लागतको अनुमानको काम सडक विभागले गर्न बाँकी रहेको आयोजनाका प्रमुख गुरु अधिकारीले बताए । उनले भने,“विभागबाट त्यो आएपछि नयाँ ठेक्काका लागि प्रक्रिया हुनेछ ।”
निर्माण व्यवसायीको लापरवाहीका कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ । सो पुल यसअघि निर्माण कम्पनी आफैँले डिजाइन गर्नेगरी (डिजाइन एण्ड बिल्ड) सम्झौताका आधारमा निर्माण शुरु गरिएको थियो । पहिले कम्पनीले तयार गरेको ढाँचामा नै निर्माण गरिने उनले बताए ।
यसअघि निर्माणको काम गरेको कम्पनीले गरेकोमध्ये प्राविधिक हिसाबले समस्या नभएको संरचना मात्रै स्वीकार गरिएको छ । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य गरेकाले नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजना प्रमुख अधिकारीले बताए । सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ ।
नयाँ ठेक्का सम्झौतामा गएपछि पनि निर्माणका लागि साढे दुईदेखि तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।