नेपालगन्ज । कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र नेपालगञ्ज बजार लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ ।
नेपालगन्ज । कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र नेपालगञ्ज बजार लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ ।
अस्पतालका कर्मचारी र चिकित्सा विषयमा अध्ययनरत विद्यार्थीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेजभित्र लागुऔषध सेवन गर्नेको संख्या धेरै रहेको अनुमान गरिएको छ । चिकित्सकलाई समाजमा निकै नै प्रतिष्ठित व्यक्तिका रुपमा मानिन्छ । डाक्टर पढ्न पठाएका छोराछोरी नै लागुऔषधमा फसेपछि बुबाआमा र अभिभावक चिन्तित भएका छन् । प्रहरीका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा बहालवाला चिकित्सक र एमबिबिएस अध्ययनरत विद्यार्थी लागुऔषध दुव्र्यसनमा फसेका छन् ।
मेडिकल कलेजभित्र चिकित्सक नै लागुऔषध सेवन गर्छन् र त्यही चिकित्सकले नै बिरामीको उपचार गर्छन् । प्रहरी अहिले मेडिकल कलेजभित्रको अनुसन्धानमा जुटेको छ । झण्डै १२ जनाभन्दा बढी चिकित्सक तथा कलेजमा अध्ययनरत विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थीलाई लागुऔषधसहित प्रहरीले वैशाख २४ मा जमुनाहा नाकाबाट पक्राउ गरेपछि यो रहस्य उजागर भएको हो ।
भारतको सीमा बजार रुपेडियाबाट लागुऔषध ब्राउनसुगर ल्याउँदै गर्दा प्रहरीले एमबिबिएस चौथो वर्षमा अध्ययनरत धनगढी उपमहानगरपालिका–१ का निशान चन्द र तेस्रो वर्षमा अध्ययनरत भारत राजस्थानका अङ्कुर शर्मालाई पक्राउ गरेको थियो भने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका तत्कालीन प्रशासन प्रमुख अरविन्द शर्मा पनि लागुऔषध ब्राउनसुगरसहित कार्यकक्षबाट नै पक्राउ परेको थियो ।
उपभोक्ता हकहित संरक्षण मंचका केन्द्रीय सदस्य वसन्त गौतमले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा लागुऔषध दुव्र्यसन तथा कारोवार हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले एमबिबिएस अध्ययन गर्ने कलेजमा लागुऔषधको दुव्र्यसनी बढ्दा सिङ्गो स्वास्थ्य क्षेत्रमा असर पर्ने बताए ।
कानून व्यवसायीसमेत रहेका गौतमले लागुऔषध कारोवारीले शिक्षा क्षेत्रमा कारोवार बढाएर शिक्षा क्षेत्रलाई तहस नहस बनाउन खोजेको दाबी गर्दै यसले सिङ्गो शिक्षा क्षेत्र धमिल्याएको बताए ।
राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईंले एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध दुव्र्यसनमा फस्नु दुर्भाग्य भएको बताए । उनले भने, ‘ राम्रा र जेहेन्दार विद्यार्थीले मात्र एमबिबिएस पढ्छन् भन्ने आमसमुदायको मानसिकतामाथि यसले नकारात्मक सन्देश दिएको छ ।’
प्रदेश नं ५ नेपाल प्रहरीका लागुऔषध ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत १२ भन्दा बढी विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको सूचना प्राप्त भएको बताए ।
उनले विद्यार्थीलाई निगरानीमा राखेको बताउँदै शिक्षण अस्पताल कोहलपुरका विद्यार्थीले लागुऔषध प्रयोग गर्दै आएको प्रमाणित भएको बताए । “हाम्रो अनुसन्धानले त्यहाँ अध्ययनरत केही विद्यार्थीले लागुऔषध प्रयोग गर्छन् भन्ने प्रमाणित भएको छ”, उनले भने, “पक्राउ परेका दुवैजना प्रयोगकर्ता भएको अनुसन्धानबाट खुलेको छ ।”
मेडिकल कलेज व्यवस्थापन समिति र कलेजका प्रबन्ध निर्देशक श्रवणकुमार चौधरीसँग छलफल जारी रहेको बताउँदै प्रहरी निरीक्षक थापाले कुलतमा फसेका विद्यार्थीलाई सही बाटोमा ल्याउन र कारवाहीको दायरामा ल्याउन अस्पताल प्रशासनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । रासस