लण्डन । लन्डनमा आयोजित एउटा व्यावसायिक कुस्ती खेलमा सहभागी मेक्सिकोका सिल्भर किङ अर्थात सेसर बारोनको कुस्ती खेल्दाखेल्दै मृत्यु भएको छ ।
लन्डन । लन्डनमा आयोजित एउटा व्यावसायिक कुस्ती खेलमा सहभागी मेक्सिकोका सिल्भर किङ अर्थात सेसर बारोनको कुस्ती खेल्दाखेल्दै मृत्यु भएको छ ।
सिल्भर किङ उपनामले परिचित सेसर बारोन आफ्नो देश मेक्सिकोमा चर्चित कुस्तीबाज थिए । उनले सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्ल्याकसँगै अभिनय गरेका थिए । उनी ५१ वर्षका थिए । क्याम्डनस्थित राउन्डहाउसमा कुस्ती खेल्दाखेल्दा उनी ढलेका थिए ।
शनिवार ग्रेटेस्ट शो अफ लुचा लिब्रमा अचेत भएर बारोन ढल्दा भिडन्त बीचतिर पुगेको थियो । मेक्सिकोका सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको हुन सक्ने जनाएका छन् ।
बारोन कुस्तीबाजको परिवारमा हुर्किए । उनका बुवा पनि चर्चित कुस्तीबाज थिए । सिल्भर किङका रूपमा बारोनले धेरै सफलता पाए । उनले सन् १९९७ देखि २००० सम्म अमेरिकाको वर्ल्ड च्याम्पियनशिप रेस्लिङ खेले । सन् २००५ मा हलिउडमा निर्मित नाचो लिब्रमा उनले खलपात्रको भूमिकामा अभिनय गरे । उनको मृत्युमा कुस्ती खेलसँग सम्बन्धित व्यक्ति र संस्थाले दुस्ख प्रकट गरेका छन् ।