सफा आकाशमा परेवा उडाएर शान्ति ल्याउन खोज्ने दुष्ट हातहरुले
रचना–राजेश अधिकारी
सफा आकाशमा
परेवा उडाएर
शान्ति ल्याउन खोज्ने
दुष्ट हातहरुले
फोहोर धर्तीमा
कुमारी शान्तिलाई
बलत्कार गरेर
अमन चयनको
वकालती गर्छन्
उडिरहेको शान्तिदूत परेवाले
धर्तीतिर हेर्दै गिज्याउँछ
शान्ति बोलाउने महमानवको
मुहार हेर्दै मुस्कुराउँछ
बगलीमा छुरा बोकेर
राम राम भन्ने मुखको
शान्तिवाणी सुनेर लजाउँछ
विडम्बना! यही लबस्तरो
पुरस्कृत र विभूषित हुन्छ
अबोधहरुको वस्तीमा
सज्जनको भेस लगाएर
सुनीति सिकाउने
बहुरूपी महात्माहरू
रातको अँध्यारोमा
भट्टीभित्र पसेर
आचारलाई कुल्चदै
ब्याभिचारलाई सुम्सुमाउँदै
नैतीकताको रत्तेउली खेल्छन्
कृतघ्नताको सागरमा
गोताखोरी गरेर
आफु मात्रै रमाउने
स्वार्थी सन्तानहरु
आमाबाबुका बुढ्यौलीलाई
बेवास्ता र दुत्कार गर्दै
नीतिको नरसिंगा फुक्छन्
स्वार्थको शराव पिउँदै
मस्तीमै डुब्छन्
ब्रह्मलूटको स्वादमा
पल्किएका भतुवाहरु
भेटेजती हसुर्छन्
सत्तामोहको नशामा
डुबेका पाखन्डीहरु
पाएजती तुर्याउँछन्
समृद्दीका खोकाईले
नथाक्ने लबस्तराहरु
सम्मानित हुन्छन्
महानगरको पटाङिनीमा
नअटाएका भुइँमान्छेहरु
बेवास्ताले थिचिएर
दबिइरहन्छन्,निससिरहन्छन्
नगरका संचालकहरु
सन्तति पोस्न ब्यस्त छन्
भाषण बक्न पोख्त छन्
यस्तै छ राजधानीको कथा
सौतेला नगरवासीका ब्यथा
उभिन्डो जन्मिएको शैलीले
ओतप्रोत मेरो देशमा
राष्ट्र चलाउने सारथीहरु
सदनका कुर्सी भाँच्छन्
कलाकार धुर्मुससुन्तली
रंगशाला बनाउँछन्
लाचार आराध्य पशुपतिनाथ
मन्दिरमा गजधुम्म परेर
टुलुटुलु मात्र हेर्छन्
असत्य गाइन्छ
सत्य लुकाइन्छ
अत्याचार मौलाउँछ
सदाचार झोक्राउँछ
चोर सम्मनित हुन्छ
साधुलाई शुली चढाइन्छ
यो मेल बेमेलको धरातलमा
असलको खुट्टा काटिन्छ
खरावलाई पखेटा लगाइन्छ
इति