समान शीर्ष पदमा पदासीन नेता बिच मर्यादाहीन,अनुशासनहीन,अभद्र एवं क्षुद्र आरोप प्रत्यारोपको परिणाम उत्पन्न अराजक छताछुल्ल नाङ्गोझारको अवस्था साँढ राजनीतिको अवस्था हो।
महेन्द्र बहादुर सिंह
समान शीर्ष पदमा पदासीन नेता बिच मर्यादाहीन,अनुशासनहीन,अभद्र एवं क्षुद्र आरोप प्रत्यारोपको परिणाम उत्पन्न अराजक छताछुल्ल नाङ्गोझारको अवस्था साँढ राजनीतिको अवस्था हो। व्यक्तित्व संघर्षको अवस्था हो। लामो समय देखि चलिरहेको सत्तासीन दलको आन्तरिक रडाको लज्जास्पद दोहोरो पत्र भिडन्तमा पुगेको सर्वविदित नै छ । पत्र बाणमा उल्लेखित जे जस्तो बुंदा र शब्दहरू संचार माध्यमहरूबाट सार्वजनिक भयो त्यसले नेकपाको आन्तरिक विवादले साँढे जुधाइको रूप धारण गरेको प्रष्ट देखाउँछ।
परिवर्तन अपरिहार्य छ। यो शाश्वत सत्य हो। परिवर्तन प्रति पूर्वाग्रही हुनु, लिँडेढिपी गर्नु भनेको खोलालाई जताबाट बग्दै आएको छ उतैतिर फर्काउन खोज्नु जस्तै हो।त्यो सम्भव छैन्।आफ्नो कार्यशैलीको विरोध र असन्तुष्टीको प्रतिशत चरम बिन्दुमा पुगिसक्यो तैपनि यथास्थितिमा रहन खोज्नु,अनेकन बखेडा खडा गर्नु,गर्न खोज्नु परिवर्तन प्रतिको पूर्वाग्रह हो। यसको परिणाम निःसन्देह व्यक्तिगत एवं दलगत मटिया मेट नै हो।पद बाट हटनु,हटाइनु मात्र परिवर्तन होईन्। नियत,विचार व्यवहार र कार्यशैलीमा फेरबदल हुनु पनि परिवर्तन हो।तर यी सबै समय,परिस्थित,अवस्था र आवश्यकतामा निर्भर गर्दछ। सत्तासीन दलको आन्तरिक विवादमा यस्तै भईरहेको छ।
नेताहरू को कस्ता छन्, को कति पानीमा छन्, जनताले बुझेका छन््।दुधले नुहाएका त कोही छैनन्। पार्टी संचालन गर्ने जिम्मा पाएका कार्यकारी अध्यक्ष हिजोका दिनसम्म के हेर्दै,के गर्दै थिए। अहिले सरकार चलाउने जिम्मा पाएका अध्यक्ष माथी व्यक्तिवादी,गुटवादी,एकाधिकारवादी,स्वेच्छाचारी विपक्षी संग साँठगाँठ,पार्टी फुटाउन खोजेको,प्रतिशोधपूर्ण व्यवहार इत्यादि आरोप लगाएका छन्। जवाफमा कार्यकारी अध्यक्ष झुटा कुरा घोलेर कथा बुन्ने,आफ्नो भागमा परेको काम नगर्ने,कपट र जालझेलपूर्ण व्यवहार,सम्पूर्ण समस्याको जग,कृत्रिम समस्या खडा गर्ने,अगस्त्य आकांक्षा आदि आरोपको भुमरीमा परेका छन्।स्वाभाविक हो।आरोपको प्रत्यारोप त हुन्छ नै।
पत्र बाणको निसानाबाजीद्वारा नङ्ग्याउन खोज्दा नेताहरू आफै नाङ्गिए। रडाको चुलियो।एकले अर्काको टुप्पी समाइ रिङाउन कुटिल खेलमा अध्यक्ष द्वय व्यस्त छन्। अब केही बाँकी रहेन्। दल नफुटला,एकीकरण टुङ्गिएला तर प्रतिशोधको पिशाचको छाया र विभाजनको अदृश्य धर्सो दीर्घकाल सम्म मनमस्तिष्कमा रहि रहनेछ। यस्तो अवस्था निम्त्याउनु घोर गलत हुनेछ। तसर्थ सामान्य अवस्थामा,फुर्सदमा टुङ्ग्याउने गरी वर्तमानको बखेडा लाई पूर्णविराम लगाइनु पर्दछ।
देश र जनतालाई स्थिरता चाहिएको छ ।कम्युनिष्ट शक्ति फितलो भएको अवस्थामा प्रजातांत्रिक शक्तिले मात्र धान्न सक्दैन्।त्यस्तै प्रजातांत्रिक शक्ति कमजोर रहेको अवस्थामा कम्युनिष्टले मात्र नाप्न सक्दैन। दुईवटै शक्ति सशक्त हुनु अत्यावश्यक छ। देशको भूराजनीतिक दृष्टिले पनि एउटा मात्र शक्तिको एकछत्र शासन सम्भव छैन्। सशक्त प्रजातान्त्रिक शक्ति र कम्युनिष्ट शक्ति देशको आवश्यकता हो।
जनतामा सभ्य,अनुशासित,सशक्त जन उत्तरदायी सरकारको कमी खट्किएको छ।सरकारको काम कुरो नीति नियम कार्यक्रम र कार्यशैली बिजोग छ। महामारी सङ्क्रमित र मृत्यु दर अत्यन्त उच्च छ । विश्वका सबै मुलुकहरूमा जनताले आफ्नो उपचार आफै गर्दछन् सरकारले गर्दैन भन्ने जिम्मेवार पक्षको यस्तो अभिव्यक्ति जनताले बिर्सेका छैनन्।जनता लाई त्राण चाहिएको छ। प्रजातान्त्रिक शक्तिहरू मूलतःनेपाली कांग्रेस हाँक दिने अवस्थामा भएको भए जनता त्राहीत्राही हुने थिएनन्। सत्तासीन दलको बखेड़ाको स्वरूप पनि अहिलेको जस्तो हुने थिएन्।मैदान खाली छ त्यसैले सत्तासीन दलको रडाको निसंङ्कोच रन्किएको छ।
भारतको नेपालमा भेटघाटको गति क्रमशः बढ्दै छ।चीनियाँ राजदूतबाट नेताहरूको नाड़ी छाम्ने ह्रदयको धडकन नाप्ने कार्य जारी नै छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आन्तरिक कलहमा बल्झिएकै छ।आकाश नै खसाल्ने हो कि जस्तो गरेर जनता समाजवादी पार्टीको नेता भू.पू प्रधानमन्त्री डा.बाबुरामले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको,वर्तमान प्रधानमन्त्री ओली, भू.पू प्रधानमंन्त्री दाहाल र देउवा संलग्न रहेको,आफुसंग प्रमाण छ, सहयोग गर्छु,गलत भएमा दण्डित हुन तयार छु भन्दै जनलोकपालको कुरो उठान त गरे तर फास न फुस । कतै मुलुकमा अस्थिरता पैदा गरि राजनीतिलाई अप्ठेरो स्थितिमा पुर्याउने र आफ्नो अभीष्ट पुरा गर्ने ग्राण्ड डिजाइन त भइराखेको छैन? जनतामा आशंका छ।
सत्तासीन दलको आन्तरिक विवाद समाधानका लागि परिवर्तन त हुनु नै पर्दछ।नेतृत्व परिवर्तन होईन्।कार्यकारी अध्यक्ष दाहालले भनेका थिए –महाधिवेशनपछि त महाधिवेशनले के गर्छ तर अहिलेलाई चाहिँ कमरेड के पी ओली नै पांचै बर्षको लागि प्रधानमंत्री ।तसर्थ नियत, व्यवहार, कार्यशैली र प्रस्तुतिमा परिवर्तनका लागि अध्यक्षद्वयबाट छलांगको आवश्यकता छ।