दक्षताको अधारमा नभई राजनीतिक आस्थाका भरमा सवैक्षेत्रमा नियुक्ति गर्ने परिपाटिले स्वतन्त्र र बौद्धिक व्यक्तित्व पलायन हुन सक्छन् । भागबण्डामा नियुक्ति हुनेबाट स्वच्छ र निष्पक्ष न्यायको कल्पना गर्न सकिदैन । स्थायी सरकार भनेर चिनिने कर्मचारी प्रशासन निबृत पछाडि पनि पुनः ठुलै नियुक्तिको आशाले आफ्नो सेवाअबधिमा नेता रिझाउने बाहेक थप काम गर्न सक्ने देखिदैन ।
बंशीकुमार शर्मा
प्राज्ञिक, कुटनीतिक सवै क्षेत्रमा राजनीतिक भागबण्डामा नियुक्ति गरिएको छ । दक्षताको अधारमा नभई राजनीतिक आस्थाका भरमा सवैक्षेत्रमा नियुक्ति गर्ने परिपाटिले स्वतन्त्र र बौद्धिक व्यक्तित्व पलायन हुन सक्छन् । भागबण्डामा नियुक्ति हुनेबाट स्वच्छ र निष्पक्ष न्यायको कल्पना गर्न सकिदैन । स्थायी सरकार भनेर चिनिने कर्मचारी प्रशासन निबृत पछाडि पनि पुनः ठुलै नियुक्तिको आशाले आफ्नो सेवाअबधिमा नेता रिझाउने बाहेक थप काम गर्न सक्ने देखिदैन । कार्यकुशलता दक्षताको मापदण्ड राजनीतिक आस्था हुने भएकोले सुशासनको कल्पना गर्नु मुर्खता हुनेछ । सुशासन भ्रष्टाचार न्यूनीकरण, विकास समृद्धि नारामा सिमित भएका छन् । वास्तवमा लोकतन्त्र कुनै दल, वर्ग, समूह विशेषको एकलौटी पेवा होइन । यो त सबैको साझा सम्पत्ति हो । लोकतन्त्रको आफ्नै मूल्य र मान्यता हुन्छ । यसमा नागरिक स्वतन्त्रता, विचार र अभिव्यक्तिको स्वतन्त्रता जस्ता न्यूनतम सिद्धान्तहरु विद्यमान हुन्छन् ।
सबै क्षेत्रमा राजनीतिक भागबण्डामा नियुक्ती होइन कार्यकुशलता र दक्षतामा हुनु पर्ने हो तर त्यस्तो भईरहेको छैन । विश्वविद्यालय, कुटनीतिक नियोग, स्वास्थ्य, शिक्षा, प्राविधिक जस्ता क्षेत्रहरुमा विज्ञ व्यक्तिको छनोट नभई भनसुन र राजनीतिक आस्थाका भरमा नियुक्ति हुने परिपाटीले समग्र राष्ट्रको हित गर्दैन यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको पनि देखिदैन । कार्यक्षमता र दक्षताको आधारमा मुल्यांकन गर्ने हो भने सुशासनको कल्पना गर्न सकिन्छ तर सबै क्षेत्रमा राजनीतिक भागवण्डामा नियुक्ति गरिएको छ । स्वतन्त्र र दक्ष व्यक्तिको लागि नामको मात्र लोकतन्त्र छ । सत्ता सञ्चालक लोकतन्त्रका ठेकदार भएका छन् । लोकतन्त्रका ठेकदारहरुले नै राष्ट्रलाई अनिर्णयको बन्दी बनँएका छन् । नेतृत्व पंक्तिको अदुरदर्शीताका कारण देश असफल राष्ट्रको सूचीमा पर्ने संकेत देखिएको छ । नेताहरुको द्वैध चरित्र देख्दा मुलुकको गन्तव्य कतातिर जाने हो भन्ने कुरामा अन्यौलता देखिन्छ । मुलुकलाई डो¥याउने जिम्मेवारी पाएका नेताहरु भागवण्डामा रमाएका छन् ।
लोकतन्त्रलाई संस्थागत गर्दै मुलकमा सुशासन विकास समृद्धि गर्ने हो भने राष्ट्रका स्वतन्त्र विचारक, बुद्धिजिवी, अनुभवी स्वच्छ व्यक्तिहरु भएका इमान्दार चरित्र भएका व्यक्तिहरुसँग राय सल्लाह सुझाव लिएर काम गर्नु पर्दछ । किनकि राष्ट्र सबैको साझा हो । प्रजातन्त्र, लोकतन्त्र गणतन्त्रमा सात्विक भिन्नता छैन । सबैको उद्देश्य जनता र मुलुक नै सर्वाेपरी हो । जनताद्वारा गरिने शासन नै प्रजातन्त्र हो । त्यसैले प्रजातन्त्रमा कुनै राजनीतिक दल, संघ संस्थामा नलागेर स्वतन्त्र भएर बाँच्न पाउने अधिकार सबैलाई छ । त्यसैले यदि कुनै योग्य व्यक्ति छ त्यो स्वतन्त्र भए पनि त्यसबाट सल्लाह सुझाव लिन पछि पर्नु हुुदैन र त्यसको विचारलाई सबैले सम्मान गर्नुपर्दछ । जसले गर्दा राज्यले दक्ष व्यक्ति पाउन सक्छ । नत्र भने जहाँकतै राजनीतिक भागबण्डाको पद वाँडफाँड गर्ने हो भने योग्य र दक्ष व्यक्ति पलायन हुन्छन् ।
मुलुकमा अनुभवहीन अर्धदक्ष र अयोग्य व्यक्तिको मात्र भीड हुनेछ । जसले गर्दा मुलुक अगाडि फड्को मार्नुको साटो पछाडि धकेलिने छ । यस्तो बौद्धिक युगमा दक्ष र क्षमताको आधारमा नभई पार्टीकै बफादार कार्यकर्ताको आधारमा पदको बाँडफाँड गर्नु कहाँसम्मको न्यायसंगत हो ? यसरी राजनीतिक भागबण्डामा नै पद बाँडफाँड गर्ने हो भने योग्यता र दक्षताको आवश्यकता परेन राजनीतिक बफादार कार्यकर्ता भएकै कारण पद प्राप्त गर्ने परिपाटीले गर्दा मुलुकमा विधिको शासन कार्यान्वयन हुन नसकेको हो । जसले गर्दा मुलुकमा दण्डहीनता, अराजकता मौलाउनुको साथै भ्रष्टाचार कमिशनतन्त्र, घुसखोरी, कालोबजारीले प्रश्रय पाउँनेछ । किनकि योग्य ठाउँमा योग्य व्यक्तिको नियुक्ति नभएकै कारण मुलुक जर्जर अवस्थामा पुगेको हो । जबसम्म न्याय सिद्धान्तका आधारमा उपयुक्त ठाउँमा दक्ष, क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिइदैन तबसम्म मुलुकमा देखिएको विकृति विसंगती हराउने छैन । त्यसैले राज्यको नेतृत्व गर्ने अवसर पाएका नेतृत्व व्यक्तिहरुले सम्पूर्ण नेपाली जनता हाम्रा हुन् राष्ट्र सबैको साझा हो भन्ने भावना अनुरुप अगाडी बढ्नु पर्छ । स्वच्छ, निष्कलङ्क व्यक्तिलाई क्षमता र योग्यताका आधारमा राजनीतिक नियुक्ति गर्नु नै बुद्धिमानी हुनेछ ।