शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो ।
एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।
शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो ।
दिल्लीले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएपछि निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । जवाफमा १७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर मात्र १३१ रन जोड्न सक्यो ।
चेन्नईका लागि फाफ दु प्लेसिसले ४३ रन बनाए । केदार जाधवले २६ रन जोड्दा कप्तान महेन्द्रसिंह धोनी १५ रन मात्रै बनाउन सके । त्यस्तै सेन वाट्सनले १४ रन बनाउन बाहेक अन्य ब्याटसमेनले उल्लेख्य रन जोड्न सकेनन् ।
चेन्नईलाई सस्तैमा रोक्न दिल्लीका तीव्र गतिका बलर कगिसो रबाडाले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र २६ रन खर्चिए । एनरिच नोट्र्जेले २ विकेट हात पारे भने अक्सर पटेलको नाममा १ विकेट रह्यो ।
यसअघि ब्याटिङ गरेको दिल्लीका लागि पृथ्वी शले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले ४३ बलको सामना गर्दै १ छक्का र ९ चौकाको मद्दतमा ६४ रन जोडे । त्यस्तै रिसब पन्तले ३७ तथा ओपनर शिखर धवनले ३५ रनको योगदान गरे। कप्तान श्रेयस अयरले २६ रन बनाए ।
चेन्नईका लागि पियुस चवालाले २ तथा साम कुरानले १ विकेट लिए।
दिल्लीको दोस्रो खेलमा पनि नेपाली लेग स्पीनर सन्दीप भने प्लेइङ ११ मा परेनन्। पहिलो खेलमा आराम दिइएको अमित मिश्रालाई दोस्रो खेलमा उतारिएको थियो। उनले ४ ओभर बलिङ गर्दा २३ रन खर्चिए।
पहिलो खेलमा दिल्लीले किङ्स ११ पञ्चाबलाई सुपर ओभरमा पराजित गरेको थियो।
आजको खेल कोलकता नाइट राइडर्स र सनराइजर्स हइदरावादबीच हुनेछ। खेल अबुधाबीस्थित शेख जायद रंगशालामा बेलुकी ७ : ४५ बजे सुरु हुनेछ।