काठमाडौँ । भुकम्प गएको ४ वर्ष वितिसक्दा पिडितको घर मात्रै होइन ,सम्पदा बनाउने काम पनि अलपत्र छ । काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र स्थानीयबासिन्दाको विवादका कारण धरहरा, काष्ठमण्डप र रानीपोखरी जस्ता महत्वपूर्ण सम्पदाको पुननिर्माणमा ढिलाई भैरहेको छ ।
काठमाडौँ ।भुकम्प गएको ४ वर्ष वितिसक्दा पिडितको घर मात्रै होइन ,सम्पदा बनाउने काम पनि अलपत्र छ । काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र स्थानीयबासिन्दाको विवादका कारण धरहरा, काष्ठमण्डप र रानीपोखरी जस्ता महत्वपूर्ण सम्पदाको पुननिर्माणमा ढिलाई भैरहेको छ ।
०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसको दिन पारेर पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण औपचारिक रुपमा थालनी गरिएको थियो । उति बेला राष्ट्रपति विद्यादेवी भण्डारीले रानिपोखरी र प्रधानमन्त्री केपि शर्मा ओलीले रातो मच्छिन्द्रनाथ मन्दिरको एकसाथ शिलान्यास गर्दै पुननिर्माण महाअभियानको थालनी भएको घोषणा गरेका थिए । तर आज एकसाथ शिलान्यास गरेका सम्पदाको अवस्था त यस्तो छ भने अरु सम्पदा कुन अवस्थामा होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ । यसबीचमा बनिसकेका सम्पदाको संख्या ९० पनि पुग्न सकेका छैनन् । महत्वपूर्ण साँस्कृतिक सम्पदा अझै पनि अलपत्र अवस्थामै छन् ।
रानीपोखरी
रानीपोखरी पुनर्निर्माणको काम धेरै समय रोकिएर बल्ल शुरु भएकोे छ । आधुनिक शैलीमा बनाउन खोजिएको भन्दै स्थानीयले विरोध गरेपछि यसको काम धेरै समय रोकिएको हो । झण्डै ४ सय वर्ष पुरानो ऐतिहासिक रानीपोखरी पुनर्निर्माणको काम आउँदो जेठदेखि फेरि सुरु गर्ने तयारी छ । परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासिन्दाको माग र दबाबपछि तीन महिनादेखि रानीपोखरी पुनर्निर्माणको काम रोकिएको थियो । रानीपोखरी बनाउने नाममा यो बीचमा झण्डै ६ करोड रुपैयाँ खर्च भैसकेको छ ।
धरहरा
रानीपोखरीजस्तै विवादमा परेको सम्पदा धरहरा पनि हो । भूकम्पले ढलेको धरहरा नागरिककै सहयोगबाट पुनर्निर्माण गर्ने उदेश्य सहित म बनाउँछु अभियान थालिएको थियो । धरहरा पुनर्निर्माण कोषमा झण्डै ९ करोड रुपैयाँ संकलन पनि भएको छ । तर २०७३ साल पुस २९ गते मन्त्रीपरिषद्को निर्णयले धरहराको निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय भएको थियो । तर धरहराको डिजाइनका विषयमा कुरा नमिल्दा टेलिकम पछि हट्यो भने धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको छ । अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रै धरहरा पुनर्निर्माण हुने बताएका थिए । अहिले ओली दोस्रो पटक प्रधानमन्त्री हुदा समेत धरहरा उठ्न सकेन ।
रातो मच्छिन्द्रनाथ मन्दिर
अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले शिलान्यास गरेको रातो मच्छिन्द्रनाथ मन्दिर पनि बनिसकेको छैन । उबेला २ वर्षमै सक्ने गरी काम सुरु भएको थियो । तर कहिले सामग्री अभाव त कहिले स्थानीयकै विरोधले काम रोकिने अनि सुरु हुने गरेको छ ।
काष्ठमण्डप
अर्को कामै सुरु हुन नसकेको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि हो । जेठ १५ गतेदेखि काष्ठमण्डप पुनर्निर्माणको काम सुरु गर्ने तयारी छ । धरहरा, काष्ठमण्डप र रानीपोखरी जस्ता सम्पदामा काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र स्थानीयबासिन्दाको विवादले काम हुन नसकेको हो ।
सरकारले ५ वर्षभित्र यि सबै सम्पदाको पुननिमार्ण सक्ने प्रतिबद्धता जनाएको छ । तर पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्ने लक्ष्य भने कागजमै सीमित हुने अवस्था देखिएको छ । किनभने महत्वपूर्ण सम्पदा विवाद र अलमलमै रुमल्लिएका छन् ।
काठमाडौं उपत्यकासहित ३० जिल्लाका प्राचीन स्मारक एवं पुरातात्विक सम्पदामा भूकम्पले क्षति गरेको हो । भूकम्पले काठमाडौंमा २ सय ५०, ललितपुरमा १ सय ३० र भक्तपुरमा ८० गरी ४ सय ६० सांस्कृतिक सम्पदा भत्किएका थिए । विश्व सम्पदा सूचीमा सूचीकृतमध्येका १ सय ४० सम्पदा क्षतिग्रस्त रहेकोमा अहिलेसम्म ३१ वटा सम्पदाको मात्रै पुनर्निर्माणको काम सकिएको छ ।