कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याईएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो ।
करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आएको महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए ।
महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा आठवटा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टप लाइन निर्माण, दुई हजार ६७० मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतना कक्ष सञ्चालन गरिसकेको छ ।
यस्तै ५०१ प्रदूषण फेल भएका सवारी साधनलाई कारवाही, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीनमहीने कार्ययोजना बनाएर काम गरेको बताए ।
यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारी साधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।