यसबाहेक मेरो यस लकडाउनको धेरै समय करियरलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनमनन र त्यसको कार्य योजना बनाउनमा बितिरहेको छ । जीवनलाई सफल र सकारात्मक बनाउने विषयका यथार्थ परक पुस्तकहरू यस समयमा पढ्ने गरेकी छु ।
काठमाडाैं । अंग्रेजी नयाँ वर्ष सुरु हुदै थियो । उता कोरोना भाइरस कोभिड १९ को चर्चा सुरु हुन थालेको थियो । कोरोना भाइरसको हल्ला अलि पहिलेदेखि नै भएपनि नेपालमा भने त्यसको प्रभाव अलि ढिलै पर्यो । कोरोनाको भाइरसको संक्रमण फैलन नदिने भन्दै सरकारले चैत ६ गते हुने भनेको एसईईको परीक्षा सार्यो । कोरोना भाइरसको त्रास बढ्दै थियो । त्यसपछि भने पहिलेको जस्तो काम गर्न पनि मन लाग्न छोड्यो ।
फिल्डमा गइ गर्ने सबै कार्यक्रम रोकिइसके पनि अफिसबाट गर्ने काम गर्दै थियौं । घरबाट अफिस जाँदा प्रयोग गर्ने सार्वजनिक यातायातमा, अफिसमा, बाटोघाटोमा जताततै कोरोनाको मात्र कुरा थियो । गर्मी लागे पछि कोरोना भाग्छ रे, नेपालीले मसाला धेरै खाने हुँदा नेपालमा कोरोना आउँदैन रे, धेरै मान्छेलाई लागि सक्यो रे, मरिसके रे, सरकारले लुकायो रे, लगायतका सत्य तथ्यभन्दा बाहिरका कुरा धेरै सुनिन्थ्यो । अब अफिसहरू बन्द हुन्छ भन्ने चर्चा चल्न थाले । यस्ता चर्चा परिचर्चा चलिरहेकै थिए सरकारले लकडाउन गरिहाल्यो । यती भएसी त हामी पनि घर भित्र बस्न बाध्य भयौं । मेरो जीवनमा लकडाउन नौलो अनुभब हो । यसअघि लकडाउनको कहिल्यै अनुभव नगरेकी मैले यति लामो समय घरभित्रै यसरि बस्नु पर्ला भन्ने सोचेकी थिइन । हुन त लकडाउन शब्द मेरो लागि मात्र नभएर सबैको लागि नौलो हुन सक्छ ।
कोरोनाले केके गर्ने हो भन्ने त्रास एकातिर छदैछ अर्को तिर खाली समयको सदुपयोग गर्ने समय पनि हो भन्ने लाग्यो । सधैँ काम, मिटिङ, संस्था, अफिसले भ्याइ नभ्याइ हुने हुँदा यस लकडाउनमा अलि आराम गर्ने समय, बाँकी काम पुरा गर्ने समय प्राप्त भएको जस्तो सुखत अनुभव भयो । र त्यसै अनुरुप लकडाउनलाई सदुपयोग गर्ने निर्णय गरे ।
लकडाउन सुरु भएकै दिन बिहान उठेर यस अवधिमा केके गर्ने भनेर रुटिन बनाएँ । उक्त रुटिनमा पहिले देखि नै गर्न मन भए पनि कामको व्यस्तताले गर्दा गर्न नभ्याएका र नपाइएका कुराको सुची बनाए । यी बाहेकका फाइदा पनि मैले भेटे । सधै व्यस्त रहदा परिवारलाई समय दिन नसकेको रहेछु । सर्वप्रथम त अहिलेको परिस्थितिमा आफूले आफैँलाई र अनि परिवारलाई समय दिने अवसर प्राप्त भएको छ । यस समयमा आफूले आफैँलाई अझ राम्ररी बुझ्न र आफ्नो स्वास्थ्यको ख्याल राख्न मौका जुरेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न घरमै बस्नु परेकाले विश्वसनीय स्रोतबाट यस सम्बन्धी सूचना र समाचार सुन्ने र पढ्ने गरेकी छु । नियमित व्यायाम र योगा गरेर शरीर र मनलाई स्वस्थ राखेकी छु । यो समयमा घरको कामकाजमा सघाउने पनि मौका मिलेको छ, जसका कारण परिवारलाई घरको कामको बोझ केही भएपनि घटेको छ भने मैले पनि पहिले नजानेका काम सिक्ने अवसर प्राप्त गरेकी छु । व्यक्तिगत दूरी कायम गर्नु पर्ने अहिलेको परिस्थितिमा फोन, म्यासेन्जरको प्रयोग गरि साथी र आफन्तसँग सामाजिक सद्भावना भने बढाइरहेको छु । कहिँकतै साथिसङ्गी र अपाङ्गता भएका व्यक्तिलाई अप्ठेरो परेको खबर आएमा राहतका लागि समन्वय गरि दिने लगायतका घरबाटै गर्न सक्ने सहयोग पनि गरिरहेकी छु ।
यसबाहेक मेरो यस लकडाउनको धेरै समय करियरलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनमनन र त्यसको कार्य योजना बनाउनमा बितिरहेको छ । जीवनलाई सफल र सकारात्मक बनाउने विषयका यथार्थ परक पुस्तकहरू यस समयमा पढ्ने गरेकी छु । यस बीचमा पहिले देखी पढ्छु पढ्छु भन्दै पढ्न बाँकी केही पुस्तक पनि पढेँ जसमध्ये रोबर्ट कियासाकिको “रिच ड्याड पोर ड्याड” नामक पुस्तकले काम र आर्थिक उन्नतिका बारे सोच्ने मेरो दृष्टिकोण नै बदलि दियो । सकारात्मक सोच, सफलताका बारे युट्युबमा प्राप्त हुने सामग्री हेर्नु पनि मेरो अहिलेको दैनिकीको पाटो बनेको छ ।
अहिलेको परिस्थितिले “वर्क फ्रम होम” अर्थात् घरबाटै काम गर्ने प्रवृत्तिको विकास भएको छ । म पनि अफिसका कतिपय काम घरमै बसेर गरिरहेकी छु । यस महामारी नफैलिएको भए मार्च र अप्रिलमा अमेरिका, थाइल्याण्ड लगायतका अन्तरराष्ट्रिय कार्यक्रममा सहभागी हुने योजना थियो । कोरोनाको जोखिमका कारण यी मध्येका धेरै अन्तरराष्ट्रिय बैठक र कार्यक्रमहरू अनलाइनमै भइरहेका छन् र म पनि यस्ता अनलाइनमा सञ्चालन हुने बैठक, गोष्ठीमा भाग लिने गरेकी छु । यसरी घरै बसि बसि अन्तरराष्ट्रिय फोरममा महिला र अपाङ्गताका सवालहरू उठान गरि अधिकारको अभियानलाई अझ सशक्त बनाउन योगदान गर्न पाइरहेकी छु । त्यस्तै गरि, पहिले मैले नचलाएका जुम लगायतका अनलाइन सफ्टवेर चलाउनमा आफुलाई अभ्यस्त पार्ने अवसर पनि प्राप्त गरेको महसुस गरेकी छु । यसरी लकडाउनको समयमा मैले आफूलाई व्यस्त राखेकी छु र यो समय पनि निकै उत्पादन सिल बनाएकी छु ।
अहिलेको अवस्थाबाट नेपालीले र समग्र मानवजातिले नै सिक्नु पर्ने कुराहरु धेरै छन् । कोरोनाले विकसित वा कम विकसित देश, धनी वा गरिब, सानो वा ठूलो, जातभात, केही भनेन । यसबाट मानवताको रक्षा गर्दै अहिलेको असमानता चिर्न सबैलाई समान व्यवहार गर्नु पर्ने सबक मानवसमुदायले सिक्नु पर्दछ । विकासका लागि आर्थिक समृद्धिसँगै विश्वमै स्वास्थ्य क्षेत्रको स्तरोन्नतिका लागि मुलुकहरूले लगानी गर्नु किन आवश्यक छ भन्ने कुरा अहिलेको परिस्थितिले छर्लङ्ग पारि दिएको छ । त्यस्तै विश्व नै लकडाउन जस्तो भएको यो समयमा डिस्टायान्ट DISTANT LEARNING AND DISTANT WORKING अर्थात् घरमै बसेर शिक्षा प्राप्त गर्ने र घरमै बसेर काम गर्ने उपायहरूको पनि अभ्यास भएको देखिन्छ । विश्व समुदायका गम्भीर प्रकारका अपाङ्गता भएका व्यक्तिले पहिले देखि नै यस्ता उपायहरूको माग गर्दै आएका छन् । कोरोना सङ्क्रमण सकिएपछि पनि अहिलेको समयमा अवलम्बन गरिएका घरबाटै अध्ययन र रोजगारी गर्न सकिने उपायहरू विशेष गरि गम्भीर प्रकारका अपाङ्गता भएका व्यक्तिको शिक्षा र रोजगारी प्रवर्धनका लागि अवलम्बन गर्न सकिन्छ । विशेषतः, अध्ययन स्थल र कार्यस्थल विविध कारणबाट अपाङ्गतामैत्री नभएको नेपाल जस्तो मुलुकमा यस्ता उपायलाई कोरोना पछि पनि निरन्तरता दिनु लाभदायक देखिन्छ । यसै गरि, परिवारका सबै सदस्य घरमै रहेको अहिलेको बेला महिलालाई अझ धेरै घरायसी कामको बोझ थपिएको छ । धेरै जस्तो महिलाहरूले सम्हाल्दै आएका घर व्यवहार, स्याहारसुसार लगायतका केयर वर्क लाई उचित आर्थिक मूल्य प्रधान गर्ने खालका उपायहरू कोरोना महामारी पछिका विकासका नीतिले समेट्नु पर्दछ ।
हालको अवस्थामा कोरोनाको सङ्क्रमणबाट आफू बच्नु र सरकारले दिएको निर्देशन पालना गर्दै समुदायका मानिसलाई सकेको सहयोग गर्नु हाम्रो दायित्व हुन जान्छ । सधैँ कामकाम भन्दै के(के न भए जसरि दौडधूप गर्ने बानी पर्न लागेका हामीले यस परिस्थितिबाट पाठ सिक्दै पहिला आफ्नो स्वास्थ्य, त्यसपछि परिवार र अनि मात्र कामलाई प्राथमिकता दिने जीवनपद्धतिको अवलम्बन गर्नु आवश्यक देखिन्छ ।