शरीरले नै पो निरीक्षण गर्दोरहेछ ।
तल–माथि, दायाँ–बायाँ
यत्र–तत्र, चौतर्फ
शङ्कटकालीन सुरक्षा शैनिक झैँ
खानतलासीको ढाँचामा
आफ्नै शरीर उपरको निरीक्षणमा
नयनहरू सलबलाईरहेछन् ।
किशोराबस्थाको मझेरीबाट
प्रत्येक अङ्ग प्रत्येङ्गहरू
बैँशमा अनुवाद हुन थालेछन्
शरीरका बिबिध अबयबहरू
बिरानो तथा नौला सावित भैरहेछन्
कता–कता लाग्न थाल्यो
असामान्य परिधानमा
स्वयं उ त सजिन थालिसकेछ ।
निरीक्षणमा निस्किएको
शिकारी नजर
स्वरुप केलाउन तम्सन्छ
शरीरले त काँचुली फेरिसकेछ
वैँसको माधुर्य सङ्गीतमा
छम्–छम् नाच्न थालिसकेछ
म त भ्रममा पो रहेछु
स्वयं म निरीक्षकमाथि
शरीरले नै पो निरीक्षण गर्दोरहेछ ।
लज्जा अनि कोमलतामा
उकुस–मुकुस अनि मीठो छटपटीमा
शरीर त पघ्रीन थालिसकेछ
स्वभाविक मादकताभित्र
काउकुतीले डसिसकेछ
तेजोमय मुहार
अनि लावण्यको जलपभित्र
विस्तारै प्रवेश गरिसकेछ
उसको अन्तस्करणमा
परमान्दको महोत्सब
उद्घाटन हुन थालिसकेछ ।
(गोरखा बजार, हाल म्याडिसन अमेरिका)